क्यान्सरको उपचारमा रहेका किशोरकिशोरीमा 'म्युजिक थेरापी' लाभदायक हुने एक पछिल्लो अनुसन्धानले देखाएको छ। अमेरिकी शोध पत्रिकामा प्रकाशित रिपोर्टअनुसार ११ देखि २४ वर्षउमेरका क्यान्सरपीडित किशोर तथा युवाको समूहले तीन सातामा एक म्युजिक भिडियो बनाएका थिए। अमेरिकी शोधकर्ताले यस अवधिमा यो समूहको अनुभवबारे अध्ययन गरेका थिए। शोधकर्ताहरुका अनुसार यो तीन साताको अवधिमा ती बिरामीको प्रतिरोध क्षमता वृद्धि भयो र उनीहरूको परिवार तथा आफन्तसँगको सम्बन्धमा पनि उल्लेख्य सुधार भयो। म्युजिक भिडियो बनाउन यी युवाहरुलाई गीत लेख्ने, संगीत भर्ने र आफ्नो कथा व्यक्त गर्न भिडियो दृश्यहरुलाई एकत्रित गर्न भनिएको थियो। म्युजिक थेरापिस्टले उनीहरुको सहयोग गरेका थिए। भिडियो तयार भएपछि उनीहरुले त्यसको 'प्रिमियर' गर्दै आफ्ना सहकर्मी र नातेदाहरुलाई देखाएका थिए। म्युजिक थेरापीपछि शोधकर्ताले भिडियो बनाउनेहरुमा प्रतिरोध क्षमता एवं उपचारको सामना गर्ने अवस्था अन्यको भन्दा राम्रो पाएको बताएका छन्। 'बचाउको यो विकल्पबाट किशोर तथा युवाहरुको उपचारमा सहयोग पुगेको छ,' प्रमुख शोधकर्ता इन्डियाना स्कुल अफ नर्सिङका डा. जोन हासेले भने, 'उनीहरूमा आशाको सञ्चार हुन्छ। क्यान्सर भएर पनि जीवनको एउटा अर्थ छ भन्न थाहा हुन्छ।'